मेयर जिसीको उपचारका लागि पोखरा महानगरले १० लाख दिने

मस्तिष्कघातपछि काठमाडौंमा उपचाररत मेयर मानबहादुर जिसीको उपचार खर्चका लागि पोखरा महानगरपालिकाले १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

मेयर जिसीको उपचारका लागि १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले मंगलबार जारी गरी जानकारी दिएका छन् । महानगरपालिकाका कार्यवाहक नगर प्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा महानगरपालिकाको कार्यपालिकाको ५१ औँ बैठकले उक्त निर्णय गरेको हो । उक्त रकम प्रकोप व्यवस्थापन कोषबाट खर्च गर्ने निर्णय भएको प्रवक्ता नेपालीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

शुक्रबार बिहान मस्तिष्कघात भएपछि मेयर जिसीलाई उपचारका लागि मणिपाल अस्पताल लगिएको थियो । त्यहाँ प्राथमिक उपचारपछि शुक्रबारै दिउँसो हेलीमार्फत उनलाई काठमाडौं ल्याइएको हो । उनको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।