मेरो कार्यकाल सम्झनलायक बनाउँछु : मेयर शाक्य

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नो कार्यकाल सम्झनलायक बनाउने बताएका छन् । आइतबार बुद्ध पार्कको शिलान्यास गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा जनताले सम्झनलायक कार्य सम्पादन गर्ने प्रमुख शाक्यले बताएका हुन् । उनले योजना बनाएर आफूहरू अघि बढिरहेको जानकारी दिँदै काठमाडौँ महानगरले नीति नै बनाएर एक वडा एक पार्कको नीति अवलम्बन गरेको जानकारी दिए । मेयर शाक्यले सम्पदा संरक्षण अभियान जस्तै पार्क निर्माण अभियान समेत सञ्चालन गरेको बताएका छन् । कुनै पनि कार्यलाई सफल बनाउन स्थानीयको भरपुर सहयोग चाहिने उल्लेख गर्दै अबको केही समयपछि काठमाडौँलाई हेर्न दायक सहरमात्रै होइन बस्न लायक सहरको रूपमा विकास गर्ने बताए ।

शाक्यले रानीपोखरी आफ्नै कार्यकालमा निर्माण सम्पन्न भएकाले चुनावमा आफूले दिएका बाचाहरू पुरा गरिरहेको बताएका छन् । उनले कमलपोखरीको निर्माण समेत रानीपोखरी भन्दा राम्रो हुने बताएका छन् । रानीपोखरी,धरहरा र कमलपोखरीको सुन्दरतामा आन्तरिक तथा बाह्य पर्यटकहरू झुम्ने शाक्यको भनाई छ । पार्क शिलान्यास कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपमेयर, वडा अध्यक्ष लगायत सर्वसाधारणको समेत सहभागिता रहेको थियो ।