नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अब कोहीसँग पनि हेपिएर नबस्ने स्पष्ट पारेका छन् । मंगलबार अनेरास्ववियुले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा नेता नेपालले आफूहरू दृढतापूर्वक अगाडि बढ्ने र कसैको टाङमुनि नछिर्ने बताएका हुन् ।
नेता नेपालले आफूहरूले कसैसँग शिर निहुराएर सम्झौता नगर्ने जिकिर गरेका छन् । नेता नेपालले दम्भी र घमन्डी नबनी सत्य र न्यायको बाटोमा अगाडि बढिरहने आफ्नो अठोट रहेको बताए । उनले अहिले दम्भी, घमन्डी र अत्याचारी नभएर असल मान्छेको देशलाई आवश्यकता रहेको पनि धारणा राखेका छन् ।
त्यस्तै नेता नेपालले कर्णाली प्रदेशसभा सदस्य पदबाट मुक्त भएका चार सांसदलाई उपनिर्वाचन मार्फत फेरि जिताएर ल्याउने दाबी गरेका छन् । कर्णालीका चार सांसदको राजनीतिक भविष्य अन्योलमा नपरेको उनको भनाई छ ।
कार्यक्रममा सामुदायिक विद्यालयबाट एसइई र कक्षा १२ उत्तीर्ण गरी चिकित्सा शिक्षा आयोगद्वारा लिइएको एमबिबिएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट छात्र आशिक झालाई सम्मान गरिएको थियो ।















