लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आज दिउँसो १ बजे बस्दै छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव माथि छलफल गर्न अधिवेशन बोलाइएको हो ।
मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रो पटक अविशवास प्रस्ताव दर्ता गराएका थिए ।
अविश्वास प्रस्तावमाथि छलफल रोक्न माग गर्दै नेकपा एमालेका सांसदले दिएको रिटमाथि मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ नभएपछि छलफल हुने भएको हो । अविश्वासको प्रस्ताव टेबुल भएपछि आज नै यसको छिनोफानो हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।
यसअघि मुख्यमन्त्री पोखरेल विरुद्ध विपक्षी गठबन्धनले वैशाख ६ र २६ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर अविश्वासको प्रस्तावमाथि छलफल हुने दिननै मुख्यमन्त्री पदबाट पोखरेलले राजीनामा दिएर एमालेको एकल बहुमत दाबी गर्दै सोही दिन पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
त्यस्तै वैशाख २६ मा दोस्रोपटक अविश्वासको प्रस्ताव दर्ता भए पनि तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवले विशेष अधिवेशन आह्वान गरेका थिएनन् ।














