एमाले बैठक : प्रतिवेदनमा सुझावका लागि समूह विभाजन

नेकपा (एमाले) को केन्द्रीय समिति बैठकमा विधान महाधिवेशनमा पेस गर्ने विभिन्न तीन प्रतिवेदन पेस भएको छ । ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा बसेको बैठकमा राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रतिवेदन पेस भएको हो । यसअघि तीनवटै प्रतिवेदन सुझाव समिति स्थायी कमिटी बैठकबाट पारित भएको थियो । प्रतिवेदनमाथि छलफल गर्न १० वटा टोली बनाइएको छ जसमा सातवटा भौगोलिक समूह, जनसङ्गठनलाई हेर्ने प्रदेश, विभागीय प्रदेश र विशेष प्रदेश समूह रहेका छन् ।

शनिबार बस्ने एमाले केन्द्रीय समिति बैठकमा समूहगत छलफलको निष्कर्ष पेस गर्ने र पारित गर्ने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । उनले पार्टीमा लामो समयदेखि उत्पन्न जटिलता हल हुन केही समय लाग्ने र १० बुँदे समझदारीलाई पूर्णरुपमा कार्यान्वयनको बाटोमा पार्टी उन्मुख रहेको बताएका छन् । त्यसअघि बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनलाई व्यवस्थित, एकताबद्ध र मर्यादितरुपमा सम्पन्न गर्नुपर्ने बताए ।

ओलीले विभिन्न प्रतिवेदनमाथि गहिरोमा पुगेर छलफल गरेर उपयुक्त निष्कर्ष निकाल्नुपर्ने धारणा राखेका छन् । उनले आगामी मङ्सिरमा हुने पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन त्यसपछि तोकिने स्थानीय निर्वाचनको तयारीमा जुट्न आवश्यक रहेको बताए ।एमालेको विधान महाधिवेशन आगामी असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा हुँदैछ । त्यसको तयारी स्वरूप एमालेले विभिन्न प्रतिवेदनमाथिको छलफललाई तीव्रता दिएको हो ।