प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक राष्ट्रपतिबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराएर स्थगित भएको हो ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट ‘विनियोजन विधेयक –२०७८’ प्रमाणीकरण गरी पठाएको पत्र सदनलाई पढेर सुनाएका थिए ।संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको ‘विनियोजन विधेयक, २०७८’ राष्ट्रपति विद्यादेवी भण्डारीले असोज ७ गते प्रमाणीकरण गरेकी थिइन् ।
भदौ २२ गतेदेखि शुरु भएको प्रतिनिधिसभाको सबै बैठक नेकपा एमालेले अवरोध गर्दै आएको छ । तर धेरैजसो बैठक भने एमाले सांसदको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकझटाले सञ्चालन गरेका छन् । विगतमा एमालेमा रहेर वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विश्वासको मत नदिनेमध्ये १४ सांसदलाई पदमुक्त गर्नुपर्ने भन्दै उसले संसद् अवरुद्ध गरिरहेको हो ।
सोमबार बैठक सुरुहुने बित्तिकै एमालेका सांसदहरूले उठेर विरोध गर्दै रोष्ट्रम घेराउ गर्न पुगेका थिए । सो क्रममा उनीहरुले एमालेले कारबाही गरेका सांसदहरूलाई सदनमा प्रवेश गराएको भन्दै नाराबाजी गरेका थिए । विरोधपछि सभामुख अग्नि सापकोटाले पटक पटक बैठक सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए । त्यस्तै सभामुख सापकोटाले अदालतमा विचाराधीन विषयमा संसद्मा छलफल नहुने भन्दै ध्यानाकर्षण गराए ।













