संसद्मा विरोध हुँदा पनि सरकार तमासा हेरेर बसेको छ : नेता अधिकारी

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता खगराज अधिकारीले लगातार संसद्मा विरोध हुँदा पनि सरकार तमासा हेरेर बसेको आरोप लगाएका छन् ।

सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अधिकारीले आफूलाई लोकतन्त्रवादी भन्ने काँग्रेस नेतृत्वको सरकारले संसद्मा देखिएको गतिरोध अन्त्य गर्न कुनै भूमिका निर्वाह नगरेको र तमासा हेरेर बसेको आरोप लगाएका हुन् । उनले सरकारले अहिले गैर जिम्मेवार प्रवृत्ति देखाएको तर्क गरेका छन् । अधिकारीले अकस्मात् संसद् बन्द गरि दलीय व्यवस्थालाई समाप्त गर्ने सत्ता गठबन्धनको षडयन्त्रको जारी रुप संसद्मा देखिएको धारणा राखे ।

त्यस्तै उनले सरकार आफ्नो नीति र सिद्धान्तमा विश्वस्त नरहेको आरोप लगाएका छन् । अधिकारीले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा कालोधनलाई सेतो बनाउने प्रावधान राखिएको भन्दै यसले अन्तर्राष्ट्रिय कानुन आकर्षित हुने र नेपाल नै कालोसूचीमा पर्ने खतरा रहेको बताएका छन् ।