पहिरोले घर पुरिँदा पाँच वर्षीय छोराको मृत्यु, बुवा घाइते

जाजरकोटको भेरी नगरपालिका–४ इवरमा पहिरोले घर पुरिँदा पाँच वर्षीय बालकको मृत्यु भएको छ ।

स्थानीय रमेश विश्वकर्माका पाँच वर्षीय छोरा प्रिन्स विकको गएराति पहिरोमा पुरिएर मृत्यु भएको हो । पहिरोमा छोरा गुमाएका रमेश पहिरोमा पुरिएर घाइते भएका छन् ।

सोमबार बिहान साढे ५ बजे घर पछाडिबाट खसेको पहिरोले घर भत्किएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम प्रसाद सापकोटाले बताए ।

घरमा ६ जनाको परिवार रहेको र अरु सकुशल रहेको डिएसपी सापकोटाले बताए । घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।