प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने प्रयोजनका लागि आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दै छ ।

संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने समझदारी भएअनुसार एमालेले मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ, जबकि अहिलेसम्म प्रचण्डसँग माओवादी (३२), रास्वपा (२१) र एकीकृत समाजवादी (१०) गरी जम्मा ६३ मत मात्र छ ।

स्वतन्त्र सांसद र राष्ट्रिय जनमोर्चाले कता मत दिन्छन् भन्ने निर्णयमा पुगेका छैनन् । नेपाल मजदुर किसान पार्टी भने तटस्थ बस्दै आएको छ ।

यदि, यी सबैले प्रधानमन्त्री प्रचण्डलाई मत दिए भने पनि पक्षमा ६८ मतमात्र पुग्नेछ । प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकार टिकाउने भए १३८ मत जुटाउन आवश्यक छ । तर, दलहरूले गरेका हालसम्मका निर्णयअनुसार यो सम्भावना न्यून छ । त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने निश्चित जस्तै छ ।