त्रिशूलीमा बेपत्ताहरुको खोजीमा बिहानैदेखि जुटे गोताखोर सहितको टोली

त्रिशूली नदीमा यात्रु सहित बेपत्ता भएका दुवै बसको खोजी कार्य आज पनि जारी रहेको छ । सशस्त्र प्रहरीको गोताखोर सहितका टोली सहित नेपाली सेना, नेपाल प्रहरीले दुर्घटना भएको दोस्रो पनि खोजी कार्य जारी राखेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिमालले बसको लोकेसन अनुमान गर्न सकिने बताए । “हिजो (शुक्रबार) साँझ रातिमा रोकिएको उद्धारको काम आज (शनिबार) बिहानैबाट सुरु हुँदै छ । वीरगन्जबाट आएको एन्जल गाडीको पर्दा र दश वर्ष भन्दा सानो बालकले लगाउने ट्याग सुट भेटिएकाले सो बसको लोकेसन त्यही हो की भन्ने अनुमान गर्न सकिन्छ । आज यसको प्रमाणिकरण हुने छ”, उनले भने ।

गाडीको पर्दा र ट्याग सुट सहितका यात्रुका केही समान छरपस्ट रूपमा शुक्रबार नै त्रिशूली किनारमा भेटिएका थिए । गोताखोर टोलीले पानी भित्र र बाहिर खोज कार्य जारी राखेको छ । हराएका बस र यात्रुको खोजेकालागि आवश्यक जस्तो सुकै अत्याधुनिक उपकरणहरू पनि आवश्यकता अनुसार प्रयोगमा ल्याउने रणनीति जिल्ला सुरक्षा समितिले लिएको छ ।

“खोजी कार्यमा हामी कुनै कुराको अभाव हुन दिँदैनौ”, प्रनाउ रिमालले भने । अविरल वर्षाका कारण नारायणगढ–मुग्लिङ सडकको सिमल तालमा शुक्रवार बिहान पहिरो जाँदा ६२ जना यात्रु सहित दुई वटा यात्रु वाहक बस त्रिशूलीमा हराइ रहेको हो । पहिरोसँगै झरेको ढुङ्गा तेस्रो बसमा पर्दा एक चालकको मृत्यु भएको छ । त्रिशुलीमा हराई रहेका बसका तीन यात्रु भने पौडिएर बाहिर निस्किएका थिए । काठमाडौँबाट गौर जान नारायणगढ तर्फ आउँदै गरेको बागमती प्रदेश ००१ख २४९५ नम्बरको गणपति डिलक्स बस र बिरगंञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेशको ०३—००६ख— १५१६ नम्बरको एन्जल्स डिलर्स बस त्रिसूलीमा खसेको हो ।

गौर काठमाडौँको बसमा ४१ जना र वीरगन्ज काठमाडौँको बसमा २४ जना सवार थिए । सवार मध्ये तीन जना नदीमा पौडिएर निस्किए पनि अन्यको अवस्था अहिले सम्म अज्ञात रहेको प्रहरीले छ । नदीमा पौडी खेलेर बाच्न सफल भएका रौतहटका नन्दन दास, रौतहट गरुडा — ९ जुगेश्वर राययादव र रौतहट सरोज गुप्ता रहेका छन् ।

अहिले नदीमा बेपत्ता भएकाका परिवार पनि नदीमा खोजी कार्यका लागि सुरक्षाकर्मीहरूलाई सहयोग गरी रहेका छन् । कतिपय वेपत्ताका परिवार अहिले घटना स्थलमा आई पुगेका छन् । दुर्घटनामा परेर पनि बाच्न सफल भएका यात्रु नन्दन दास बसमा आफ्ना अन्य परिवार पनि रहेका बताउँछन् ।

“बस पल्टिएर वल्टन खाँदै खादै त्रिशूलीमा खसेको हो । दुर्घटनामा म त भाग्यले बचे अरूलाई बचाउन सकिएन”, उनले भने ।

नदीमा पौडिएरै बाच्न सफल जुगेश्वर राययादव पनि अहिले उद्धार कार्यमै भेटिए । सामान्य घाइते अवस्थामा उपचार पछि उनी आफ्ना हराइ रहेका परिवारको खोजीमा आएका हुन् ।

“जेठी छोरी, नातिनी, नाति, छोरा हराइ रहेका छन् । हामी छ दिन अघि उपचार गराउन काठमाडौँ आएका थियौँ”, उनले भने ।