माछा मार्ने क्रममा करेन्ट लागेर पोखरामा एक जनाको मृत्यु

पोखरा महानगरपालिका वडा नम्बर ३० को खुदीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर शुक्रबार साँझ एक जनाको मृत्यु भएको छ ।

माछा मार्ने क्रममा पोखरा–३१ बस्ने २५ वर्षीय विष्णु थापामगरको करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि सरुवा तथा सङ्क्रामक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएको उल्लेख गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।