अल्पमतमा परेका लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिने भएका छन् । सत्ता साझेदार दल नेकपा एमाले र जसपाले सरकार छाड्दै सरकारमाथिको समर्थन झिकेपछि प्रष्ट अल्पमतमा परेका महराले केही दिनमै प्रदेश सभालाई सम्बोधन गरेर राजीनामाको घोषणा गर्ने तयारी गरेको उच्च स्रोतले जनाएको छ ।
केन्द्रमा बनेको नयाँ सत्ता गठबन्धनअनुसार लुम्बिनीमा नेकपा एमालेको नेतृत्वमा सरकार बन्नेछ । महरा नेकपा माओवादी केन्द्रका सांसद हुन् । लुम्बिनीमा नेपाली कांग्रेस र एमाले मिल्दा प्रष्ट बहुमत र साना दल पनि मिसिँदा दुई तिहाई बहुमत पुग्ने र आफ्नो विश्वासको मत फेल हुने निश्चित भएपछि उनले राजीनामा दिन लागेका हुन् ।
लुम्बिनी प्रदेशमा एमालेका २९ सदस्य छन् । कांग्रेसका २७ जना छन् । दुई दलको मात्र जोड्दा ५६ पुग्छ । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ प्रदेश सभा सदस्य आवश्यक पर्छन् । ठूला दलले सरकार बनाउने भएपछि प्रदेशका राप्रपा, नागरिक उन्मुक्ति, लोसपा, जनमत, जसपा, जसपा नेपाल लगायतका दलले पनि एमाले कांग्रेसको सरकारलाई समर्थन गर्ने जनाएका छन् ।
अल्पमतमा परेका मुख्यमन्त्री महराको समर्थनमा अहिले माओवादीका १०, नेकपा एसका एक र राष्ट्रिय जनमोर्चाका एक गरी १२ सदस्य मात्र छन् । एक स्वतन्त्रले अझै निर्णय लिएका छैनन् ।











