काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसदमा विश्वासको मत लिने भएका छन् ।आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने भएका थिए । नेपालको संविधानको धारा ७६ (२) अनुसार निर्वाचित प्रधानमन्त्रीले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए भने ११ पुसमा शपथ लिएर कार्यभार सम्हालेका थिए ।
प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा एमालेसहित सात दल र तीन स्वतन्त्र सांसदले समर्थन गरेका थिए । उनको पक्षमा १६९ मत छ । तर, विश्वासको मतका लागि न्युनतम १३८ मत चाहिन्छ ।
प्रधानमन्त्री प्रचण्डलाई एमालेका ७९, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६ र नागरिक उन्मुक्तिका चार सांसदले विश्वासको मत दिने निश्चित छ । सरकारलाई समर्थन गरेका स्वतन्त्र सांसदहरू प्रभु साह र डा। अमरेशकुमार सिंहले पनि विश्वासको मत दिँदै छन् । सबै गरी १६९ सांसदले विश्वासको मत दिने तय भएको छ । तर, सुविधाजनक बहुमतको समस्या नभए पनि प्रधानमन्त्री प्रचण्ड दुईतिहाइ जुटाउने प्रयासमा छन् । १० सिट रहेको एकीकृत समाजवादी र चार सिट रहेको लोसपाले मात्रै विश्वासको मत दिने समेत निश्चित भइसकेको छ । यसले प्रचण्डलाई दुईतिहाइ बहुमत पुर्याउँन सहज हुने छ ।
हाल संसद्मा २७५ सदस्य कायम छन्, बहुमतका लागि १३८ तथा दुईतिहाइका लागि १८३ मत चाहिन्छ ।
यता कांग्रेस पनि विश्वासको मत दिन सक्ने संकेत गरेको छ । मत दिन आग्रह गर्दै सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड धुम्बाराहीस्थित कांग्रेस सभापति शेरबहादुर देउवानिवास पुगेका थिए । स्रोतका अनुसार देउवाले संसदीय दलको बैठकबाट आवश्यक निर्णय लिने आश्वासन प्रधानमन्त्रीलाई दिएका छन् ।
भेटमा उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्ण सिटौला पनि थिए । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेको र सभापति देउवाले पार्टीमा छलफल गरेर मंगलबार निर्णय लिने जवाफ दिएको खड्काले बताए । त्यसअघि खड्का र सिटौलाले प्रधानमन्त्रीसँग भेट गरेका थिए ।













