रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

Image

रवि लामिछाने विरुद्ध दायर मुद्दा फिर्ता लिने निर्णयको वैधतामाथि आज सर्वोच्च अदालत मा सुनुवाइ हुँदैछ।

राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति लामिछानेसम्बन्धी सहकारी र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध दायर रिट निवेदनमाथि न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेल को संयुक्त इजलासमा पेसी तोकिएको हो।

यसअघि फागुन २७ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेल को इजलासले उक्त रिटको सुनुवाइका लागि आजका लागि पेसी तोकेको थियो।

इजलासले विपक्षीहरूको लिखित जवाफ परिसकेको वा जवाफ दिने म्याद नाघिसकेको तथा रिटमा उठाइएको विषय तत्काल टुंगो लाग्नुपर्ने प्रकृतिको देखिएको भन्दै हेर्न नहुनेबाहेक पेसी स्थगित नहुने गरी पूर्ण सुनुवाइका लागि पेसी तोक्न आदेश दिएको थियो।

सविता भण्डारी ले गत पुस ३० गते लामिछानेमाथि अदालतमा विचाराधीन सहकारी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा संशोधनसहित फिर्ता लिने निर्णय गरेकी थिइन्।

उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, युवराज सफल लगायतका कानुन व्यवसायीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्।

रिटमा महान्यायाधिवक्ताको उक्त निर्णय कानुनविपरीत रहेको दाबी गर्दै बदर गर्न माग गरिएको छ।