तत्कालीन गृहमन्त्री रमेश लेखकले गत भाद्र २३–२४ को जेनजी आन्दोलनबारे आयोगसमक्ष बयान दिँदै प्रदर्शनमा घुसपैठ भएको तथ्य आफूले प्रत्यक्ष देखेको बताएका छन्।
गौरीबहादुर कार्की नेतृत्वको जेनजी जाँचबुझ आयोगसँगको बयानमा लेखकले भनेका छन्, “भाद्र २३ मा जेनजी पुस्ताले उठाएका मागहरू मूलत: ठीक थिए, तर त्यस पवित्र मनोभावनामा घुसपैठ भएर भएका दु:खद घटना र राज्यका ऐतिहासिक तथा अमूल्य संरचनामाथि भएका आक्रमणलाई केवल आवेगको परिणाम भनेर सीमित गर्न सकिँदैन।”
लेखकले आयोगमा थप बताए अनुसार जेनजी अगुवाहरूले “हाम्रो आन्दोलन सफल भएको छ, यसलाई हाइज्याक गरेर हिंसात्मक बनाइँदैछ, साथीहरू आ–आफ्नो घर फर्किनुस्” भनेर दिएको अभिव्यक्तिले प्रदर्शनमा घुसपैठ भएको स्पष्ट प्रमाण हो।
आफूले फिल्डमा प्रत्यक्ष आदेश नदिएको, तर नीतिगत निर्देशन, समन्वय र राजनीतिक तहबाट आवश्यक सहजीकरण गर्ने जिम्मेवारी निर्वाह गरेको लेखकले आयोगमा स्पष्ट पारेका छन्।
















