इरानले जलमार्ग पुन: बन्द गरेको घोषणा गर्दै अमेरिकी नाकाबन्दी नहटेसम्म कुनै पनि जहाजलाई आवतजावत गर्न नदिने चेतावनी दिएको छ । इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आईआरजीसी) नौसेनाले शनिबार सार्वजनिक गरेको वक्तव्यमा स्ट्रेट अफ होर्मुजबाट गुज्रिन खोज्ने कुनै पनि जहाजलाई ‘निशाना बनाइने’ चेतावनी दिएको छ ।
फारसको खाडी र ओमान सागरबाट हर्मुजतर्फ बढ्ने जहाजलाई शत्रुसँगको सहकार्य मानिने पनि इरानले स्पष्ट पारेको छ । पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानका प्रतिनिधिबीच भएको वार्तामा इरानले स्ट्रेट अफ होर्मुजको बाटो खुला गर्ने सहमति भएको थियो । तर लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको नाकाबन्दी जारी रहने बताएका थिए । उनले इरानको युरेनियम अमेरिका लैजाने सहमति भएको दाबीसमेत गरेका थिए ।
इरानले भने युरेनियम अमेरिका लैजाने सहमति भएको भनेर ट्रम्पले झुटो बोलेको टिप्पणी गरेको थियो । साथै नाकाबन्दी हट्नुपर्ने माग राखेको थियो । वार्तामा सहमति भएको र इरानले अस्थायी रूपमा जलमार्ग खोल्दै सबै व्यावसायिक जहाजका लागि सुरक्षित रहेको जनाएको २४ घन्टा नबित्दै पुन: तनाव चुलिएको छ । सहमतिको खबरले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसमेत घटेको थियो ।
इरानका संसद् सभामुख तथा वार्ताकार मोहम्मद बाकर गालिबाफले टेलिभिजन अन्तर्वार्तामा स्ट्रेट अफ होर्मुज ‘इस्लामिक गणतन्त्रको नियन्त्रणमा रहेको’ दाबी गरेका छन् । उनले अमेरिकी नौसैनिक नाकाबन्दीलाई ‘अपरिपक्व र अज्ञानतापूर्ण निर्णय’ भन्दै आलोचना गरेका छन् ।
अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले जलमार्ग बन्द गरेर ‘ब्ल्याकमेल’ गर्न नसक्ने चेतावनी दिएका छन् । उनले निर्धारित समयभित्र सहमति नभए युद्धविराम अन्त्य गरिने र अमेरिकी नाकाबन्दी यथावत् रहने बताएका छन् । ट्रम्पले आगामी बुधबारसम्म कुनै ठूलो सम्झौता नभए इरानमा फेरि बमबारी हुने धम्की दिएका छन् ।















