इरानका विदेशमन्त्री अब्बास अराघची रुसको भ्रमणमा छन्। सोमबार उनले सेन्ट पिटर्सबर्गमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन्।
भेटपछि पत्रकारहरूसँग कुरा गर्दै अराघचीले इरान ‘विश्वको सबैभन्दा ठुलो महाशक्ति (संयुक्त राज्य अमेरिका) विरुद्ध दृढतापूर्वक उभिएको’ र अमेरिका ‘आफ्नो कुनै पनि लक्ष्य हासिल गर्न असफल भएको’ दाबी गरे।
उनले थपे, ‘त्यसैले उसले (अमेरिकाले) वार्ताका लागि अनुरोध गरेको छ र हामी यसमा विचार गरिरहेका छौँ।’ अमेरिकाबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
इरानका विदेशमन्त्रीले युद्धले गर्दा इरानका साथमा रुसजस्ता महान् मित्र र सहयोगी छन् भन्ने थाहा पाइएको पनि बताए। समर्थनका लागि रुसलाई धन्यवाद दिए।
रुसका विदेशमन्त्री सर्गेई लाभरोभले पनि अराघचीको भ्रमणबारे विज्ञप्ति जारी गरेका छन्। रुसको सरकारी समाचार एजेन्सी तासका अनुसा, लाभरोभले बैठकपछि पत्रकारहरूलाई वार्ता ‘उपयोगी’ भएको बताए।
यसैबिच रुसी समाचार एजेन्सी इन्टरफ्याक्सले भेटवार्ता लगभग डेढ घण्टा भएको उल्लेख गरेको छ। पुटिनले इरान युद्ध अन्त्य गर्न रुस मध्यस्थता गर्न इच्छुक रहेको बताएका छन्।
















