मधेसको धनुषा र सिरहा जिल्ला जोड्ने मार्गको रुपमा हुलाकी राजमार्ग अन्तर्गतको कमला पुलको अस्थायी डाइभर्सन (बाँध)मा पानीको सतह बढ्दा दुई दिनेदेखि आवागन अवरुद्ध रहेको छ।
आइतबार बिहान आएको वर्षाले कमला नदीमा पानीको सतह बढ्दा सो डाइभर्सनमा समेत पानी चढेपछि धनुषा र सिरहाका स्थानीयलाई आवत जावत गर्न समस्या भएको हो। करिब तीन सय मिटर निर्माण गरिएको बाँध पानीले बीचमै भत्किएपछि सर्वसाधारण र सवारी साधन सञ्चालनमा समस्या भएको स्थानीयले जनाएका छन्।
धनुषाको कमला नगरपालिका ५ का वडाअध्यक्ष शिव पासवानले दिएको जानकारी अनुसार डाइभर्सनभन्दा माथि पानी चढेको थियो। नदीमा पानीको बहाव तेज भएपछि डाइभर्सन बीचमै भत्किँदा दुई दिनदेखि आवागमन अवरुद्ध छ।
वडाध्यक्ष पासवानले दिएको जानकारी अनुसार डाइभर्सनको तीन फिट माथिसम्म पानीको सतह चढेको थियो। अहिले घटेर करीब एकडेढ फिटसम्म आएको छ। पैदल यात्रु आजदेखि केही समस्या भएपनि सामान्य रुपमा आवागमन शुरु गरेका छन्। तर सवारी साधन चाहिँ पूर्ण रुपमै ठप्प छ।
डाइभर्सन भत्किएको दिन सयौं गाडी बीचमै दुवैतर्फबाट फसेका थिए। पछि प्रशासनको सहयोगमा गाडी बाहिर निकालिएको थियो।
















