कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

Image

मध्यपूर्वमा जारी युद्धका कारण कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च भएको छ। द गार्जियनका अनुसार कच्चा तेलको मूल्य प्रतिब्यारेल १२६ डलर नाघेको हो।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध नाकाबन्दी लम्ब्याउने बताएपछि कच्चा तेलको मूल्य २४ घण्टामै १३ प्रतिशतभन्दा बढी बढेर सन् २०२२ यताकै उच्च भएको हो। विश्वबजारमा तेलको मूल्यको मानक मानिने ‘ब्रेन्ट क्रुड’को मूल्य बुधबार प्रतिब्यारेल १२० डलरभन्दा माथि पुगेको छ।

यसअघि सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि ब्रेन्टको मूल्य प्रतिब्यारेल १३९ सम्म पुगेको थियो।त्यसपछि गत फेब्रुअरी २८ मा अमेरिका-इजरायलले इरानविरुद्ध युद्ध सुरु भएयता भने ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १२० डलरभन्दा मुनि नै थियो।

तर ट्रम्पले इरानी बन्दरगाहमा नाकाबन्दी लम्ब्याउने अभिव्यक्ति दिनासाथ बुधबार कच्चा तेलको मूल्य इरान युद्ध सुरु भएयताकै उच्च बनेको हो।