त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रारले राजीनामा दिएका छन्। उपकुलपति दीपक अर्याल, रेक्टर खड्ग केसी र रजिस्टार केदारप्रसाद रिजालले बिहीवार विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई सम्बोधन गर्दै छुट्टाछुट्टै राजीनामापत्र पठाएका हुन् ।
नयाँ सरकारालाई काम गर्न सहजताको लागि मार्गप्रशस्त गरिएको तर्क उनीहरूले गरेका छन् । उपकुलपति अर्याल केपी ओली प्रधानमन्त्री भएको बेला नियुक्त भएका थिए । प्राडा केशरजंग बरालले उपकुलपतिबाट राजीना दिएपछि अर्याल गत २०८२ असार २५ मा उपकुलपति बनेका थिए ।
शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेला नियुक्त भएका थिए । तत्कालीन उपकुलपति बरालको सिफारिसमा रिजाल र केसीलाई २०८० चैत ३० मा तत्कालीन प्रधानमन्त्री प्रचण्डले नियुक्त गरेका थिए । त्रिवि पदाधिकारीको कार्यकाल ४ वर्षको हो ।
तर दुई तिहाइ नजिकको मत ल्याएको रास्वपाले राजनीतिक नियुक्ति लिएकालाई मार्गप्रशस्त गर्न भनेको थियो । सरकारले अध्यादेश नै ल्याउन लागेपछि राजीनामा दिने निर्णमा त्रिवि पदाधिकारी पुगेका हुन् ।















