पोर्चुगलकी उप–विदेशमन्त्रीले गरिन् परराष्ट्रमन्त्रिसँग भेटवार्ता

Image

पोर्चुगलकी उप–विदेशमन्त्री डा. आना इसाबेल जेभियरले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटवार्ता बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको हो । उनी परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणमा तीन दिने नेपाल भ्रमणको सिलसिलामा बुधबार काठमाडौं आएकी हुन् ।
 
भेटमा १ अप्रिल २०२६ मा आफ्ना पोर्चुगिज समकक्षी पाउलो रंगेलसँग भएको टेलिफोन वार्तालाई सम्झँदै परराष्ट्रमन्त्री खनालले पोर्चुगल सरकारले काठमाडौंमा कूटनीतिक नियोग खोल्ने घोषणाको स्वागत गरेका थिए ।

नियोग स्थापनामा नेपाल सरकारको पूर्ण सहयोग रहने आश्वासन भेटमा परराष्ट्रमन्त्री खनालले दिएको परराष्ट्र मन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।
 
नेपाली नागरिकको कन्सुलर मुद्दा समाधान गर्न पोर्चुगिज सरकारले सकारात्मक सोच बनाएकोमा उनले आभार व्यक्त गरेका थिए ।

बिहीबार बिहान परराष्ट्र सचिव राई र पोर्चुगलकी उप–विदेशमन्त्री जेभियरबीच मन्त्रालयमा द्विपक्षीय भेटवार्ता भएको थियो । भेटमा नेपाल–पोर्चुगल सम्बन्धका विभिन्न पक्षहरूको समीक्षा गरिएको थियो । 
पोर्चुगलकी उप–विदेशमन्त्री जेभियर वैशाख १८ गते काठमाडौंबाट प्रस्थान गर्ने कार्यक्रम छ ।