संघीय संसद् सचिवालयले संसद्मा प्रतिनिधित्व पार्टीका संसदीय दललाई पत्र लेख्दै स्वकीय चाहिए माग गर्न अनुरोध गरेको छ । सांसद्का लागि स्वकीय सचिवको सुविधा चाहिएको छ भने सम्बन्धित दलले लिखित माग गर्नुपर्ने भएको हो।
प्रतिनिधिसभाका सचिव हर्कराज राईले यही वैशाख १४ गते संसदीय दलहरू र स्वतन्त्र सांसदलाई पत्र लेखदै उक्त जानकारी दिइएका होे ।
‘स्वकीय सचिवको व्यवस्थापनको सम्बन्धमा’ शीर्षक राखेर पठाइएको पत्रमा ‘माननीय सदस्यहरुको लागि स्वकीय सचिवको व्यवस्था गर्नको लागि प्रक्रिया अगापडि बढाउन सबै दलहरू र स्वतन्त्र समेतको तर्फबाट लिखित माग प्राप्त गर्न निर्देशन भएअनुसार’ पत्राचार गरिएको उल्लेख छ ।
प्रतिनिधिसभामा ६ वटा पार्टी छन् । यसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दललाई पत्र लेखेर सांसदहरूलाई स्वकीय चाहिएको हो भने माग गर्न भनिएको छ ।
संसद् सचिवालयका अनुसार दलहरूबाट माग भएको खण्डमा त्यसलाई समावेश गरेर कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइनेछ ।













