चीनको कडा विरोध र अवरोधका बाबजुद ताइवानका राष्ट्रपति लाइ चिङ-ते अफ्रिकी मुलुक ईस्वातिनीको आकस्मिक भ्रमणमा पुगेका छन्।
राजा मस्वाती तृतीयको गद्दी आरोहणको ४०औँ वार्षिकोत्सवमा सहभागी हुन पुगेका लाइले ताइवान एक सार्वभौम राष्ट्र भएको र यसलाई विश्वसँग सम्बन्ध राख्नबाट कसैले रोक्न नसक्ने उद्घोष गरेका छन्। ताइवानलाई आफ्नो अभिन्न अंग ठान्ने चीनले भने लाइको यस कदमलाई ‘मुसाको जस्तो व्यवहार’ भन्दै टिप्पणी गरेको छ।
ताइवानका अनुसार बेइजिङले यो भ्रमण रोक्न ठुलो कूटनीतिक दबाब सिर्जना गरेको थियो। गत महिना मात्रै चीनकै दबाबका कारण हिन्द महासागरका तीन देशले लाइको विमानलाई आफ्नो आकाश प्रयोग गर्न अनुमति नदिएपछि भ्रमण प्रभावित भएको थियो।
यस पटक भने सुरक्षा र बाह्य हस्तक्षेपको जोखिम कम गर्न ईस्वातिनी सरकारकै विमान प्रयोग गरेर राष्ट्रपति लाइ ‘आकस्मिक’ रूपमा त्यहाँ पुगेका हुन्। यो भ्रमणलाई दुवै देशले अवतरण नहुञ्जेलसम्म गोप्य राखेका थिए।
ताइवानका २ करोड ३० लाख जनतालाई विश्वसँग जोडिने अधिकार भएको भन्दै लाइले कुनै पनि देशले ताइवानको योगदानलाई रोक्ने प्रयास गर्न नहुने बताएका छन्। ईस्वातिनी ताइवानसँग औपचारिक कूटनीतिक सम्बन्ध कायम राख्ने विश्वका सीमित १२ देशमध्ये एक हो। लाइको यो भ्रमणले ताइवानको अन्तर्राष्ट्रिय उपस्थिति र कूटनीतिक दृढतालाई पुनः पुष्टि गरेको छ।
यता, चीनको ताइवान मामिला हेर्ने कार्यालयले भने लाइले ‘चोर बाटो’ बाट भ्रमण गरेको आरोप लगाउँदै उनको आचरणलाई ‘बाटो काट्दै गरेको मुसा’ सँग तुलना गरेको छ।
चीनको यस्तो टिप्पणीप्रति ताइवानले पनि कडा प्रतिवाद गरेको छ। ताइवानको मेनल्यान्ड अफेयर्स काउन्सिलले कतै जानका लागि ताइवानलाई बेइजिङको अनुमति नचाहिने र चीनको भाषा ‘अत्यन्तै बोरिङ’ रहेको भन्दै कटाक्ष गरेको छ।
ताइवानको उडानमा चीनले सिर्जना गरेको अवरोधप्रति अमेरिका, युरोपेली संघ, बेलायत र फ्रान्स जस्ता शक्ति राष्ट्रहरूले यसअघि नै चिन्ता व्यक्त गरिसकेका छन्।













