आम जनता पार्टीका अध्यक्ष प्रभु साहले बालेन्द्र साह(बालेन) नेतृत्वको सरकारको काम कारबाहीलाई लिएर कडा टिप्पणी गरेका छन् ।
आइतबार सिराहाको गोलबाजारमा पार्टीले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै साहले प्रधानमन्त्रीले विधि मासेर बल प्रयोग गर्दै लामो समयसम्म शासन गर्न खोजेको संकेत मिलेको भन्दै यस्तो शासन नेपाली जनतालाई अस्विकार्य हुने चेतावनी दिएका हुन् ।
उनले संसद् छलेर अध्यादेशबाट शासन गरिनु संसदीय लोकतन्त्रको उपहास भएको भन्दै जननिर्वाचित सर्वोच्च थलो संसद्को सर्वोच्चता कायम गर्न आग्रह गरे । विगतमा केपी ओलीले अध्यादेशबाट शासन गर्न खोज्दा र संसद्को अपमान गर्दा व्यहोरेको राजनीतिक क्षतिलाई पनि स्मरण गर्न उनले वर्तमान सरकार र रास्वपा नेतृत्व पंक्तिलाई सुझाव दिए ।
बालेनले जित्दा रामराज्य बन्छ भन्नेहरु नै अहिले एक महिनामै बालेनको शासन देखेर ‘राम राम’ भन्ने अवस्थामा पुगेको उनको भनाइ छ । ‘बालेनसँग धैर्यता देखिएन । हतार गर्दा दुई तिहाई बहुमत नै धरापमा पर्ने जोखिम पनि बढ्यो, यो कुरा रास्वपा नेतृत्व पंक्तिले राम्रोसँग हेक्का राख्दा हुन्छ,’उनले भने ।













