नेकपा एमालेले आज सुदूरपश्चिम प्रदेशका आफ्ना सांसदहरूसँग महत्वपूर्ण छलफल गर्दैछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा प्रदेशका ११ सांसदसँग बैठक गर्न लागेका हुन्।
पछिल्लो समय संसदीय दलको नेता परिवर्तनको विषय उठेपछि अध्यक्ष ओलीले सामूहिक छलफलमार्फत निर्णय लिने तयारी गरेका छन्। यसअघि तीन जना सांसदले दलको नेतृत्व परिवर्तनको माग गर्दै शीर्ष नेताहरूसँग परामर्श गरेका थिए।
उपनेता सन्तोष शर्मा थापा र प्रमुख सचेतक चक्र मल्ल दलको नेतृत्वको दौडमा देखिएका छन्। बैठकमा नेतृत्व चयनसँगै सत्ता सहकार्य र मन्त्री हेरफेरको विषय पनि प्रमुख एजेन्डाका रूपमा रहने बताइएको छ।
विशेषगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग सहकार्यको सम्भावना र त्यसको सुरुवात सुदूरपश्चिमबाट गर्ने विषयमा नेतृत्व तहमा छलफल चलिरहेको छ।
यस्तै, प्रदेश सरकारमा रहेका मन्त्रीहरूको कार्यकाल दुई वर्ष नाघिसकेको भन्दै केही सांसदहरूले मन्त्री हेरफेरको माग गरेका छन्। हाल सुदूरपश्चिम प्रदेश सरकारमा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री कार्यरत छन्।














