वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले पदबाट राजीनामा दिएका छन्।
अघिल्ला सरकारले गरेका सबै नियुक्ति खारेज गर्ने गरी वर्तमान सरकारले अध्यादेश ल्याएपछि डा. शर्माले पदबाट राजीनामा दिएको जनाएका छन्। उनले हिजो नै स्वास्थ्य मन्त्रालय पुगेर राजीनामा बुझाएको जानकारी दिए।
अन्य पदाधिकारीहरूले समेत पद छाडेकाले आफूले पनि राजीनामा दिएको उनले बताए। “मेरो कार्यकाल पनि धेरै बाँकी छैन, नयाँ सरकारलाई सहज होस् भनेर राजीनामा दिएँ,” डा. शर्माले भने।
स्वास्थ्य सेवाअन्तर्गत दशौं तहका कर्मचारी रहेका डा. शर्मा २०८१ फागुनमा वीर अस्पतालको निर्देशकमा नियुक्त भएका थिए।
उनको राजीनामासँगै वीर अस्पताल पदाधिकारीविहीन बनेको छ। अध्यादेश जारी भएसँगै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्षलगायतका पदाधिकारी पनि पदमुक्त भएका थिए।















