श्रममन्त्रीको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ अपहरण मुद्दामा पक्राउ

Image

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ गम्भीर अपराध सम्बन्धी कसुरमा पक्राउ परेका छन् ।

सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर–१ बल्थी घर भई हाल राजविराज नगरपालिका वडा नम्बर–३ पाख्रेल टोल बस्ने २७ वर्षीय मुस्तकिम मियाँ अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा पक्राउ परेका हुन् । उनलाई सोमबार राजविराजबाट पक्राउ गरिएको हो ।

उनी मन्त्री यादवको सचिवालयमा चालकको नियुक्ति पाएका युवा हुन् । उनलाई सोमबार राजविराज नगरपालिका–८ क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मुस्तकिम मियाँसहितको समूहले एक युवकलाई अपहरण गरी सुनसान स्थानमा लगेर शरीर बन्धक बनाएको, कुटपिट गरेको तथा कपडा खोली नग्न बनाई भिडियोसमेत बनाएको आरोप छ। घटनापछि फरार रहेका प्रतिवादीको खोजतलास गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई जिल्ला सरकारी वकिल कार्यालय सप्तरीमार्फत सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

उनीसहित चारजनाले एक युवकलाई अपहरण गरी नग्न बनाएर कुटपिट, मानसिक तथा शारीरिक यातना दिएको आरोपमा प्रहरीले पक्राउ पूर्जी जारी गर्न जिल्ला अदालतसँग यही वैशाख २४ गते अनुमति मागेको थियो । जिल्ला प्रहरी कार्यालय सप्तरीको अपराध अनुसन्धान शाखाले राजुकुमार चौधरीको जाहेरीका आधारमा मुस्तकिम मियाँसहितलाई प्रतिवादी बनाएर अपहरण तथा शरीर बन्धक र अमानवीय व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो ।

प्रहरीका अनुसार मिति २०८२ फागुन १४ गते बिहान करिब ८ बजे राजविराज नगरपालिका–३ हनुमानचोकबाट जाहेरवालालाई मोटरसाइकलमा आएका समूहले बन्दुक देखाएर अपहरण गरेका थिए। त्यसपछि उनलाई राजविराज–८ स्थित हिमालय राइस मिल पछाडिको सुनसान क्षेत्रमा लगेर कुटपिट गर्नुका साथै शरीरका सम्पूर्ण कपडा खोलेर नग्न बनाइएको आरोप छ।

जाहेरी अनुसार आरोपितहरूले पीडितलाई भुइँमा थुक चाट्न लगाउनुका साथै भोजपुरी गीतमा नचाएर भिडियोसमेत बनाएका थिए। उनीहरूले पीडितसँग रहेको करिब २२ हजार रुपैयाँ मूल्यको मोबाइल, दुई तोला सुनको सिक्री र नगद १ लाख ३० हजार रुपैयाँ समेत लुटेको आरोप छ।