आजदेखि सुरु भयो एक महिने मत्स्यनारायण मेला

Image

काठमाडौँको मच्छेगाउँ (मत्स्यगाउँ) स्थित मच्छेनारायण मन्दिर मा आजदेखि एक महिने पुरुषोत्तम मास अर्थात् अधिक मास मेला सुरु भएको छ । ‘मलमास मेला’का नामले परिचित यस मेलामा काठमाडौँ उपत्यकासहित देशभरबाट लाखौँ भक्तजनहरूको घुइँचो लाग्ने अपेक्षा गरिएको छ ।

धार्मिक मान्यताअनुसार पुरुषोत्तम मासमा भगवान् नारायणको पूजा–आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त हुने विश्वास रहिआएको छ । यही विश्वासका साथ भक्तजनहरू मच्छेनारायण मन्दिरमा दर्शन तथा पूजाआजाका लागि पुग्ने गरेका छन् ।

मन्दिर परिसरमा सुनको जलप लगाइएको गरुडको आकर्षक प्रवेशद्वार रहेको छ । साथै, माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शंख, चक्र, गदा र पद्म धारण गरेको भगवान् मत्स्यनारायणको मूर्ति यहाँको मुख्य आकर्षण बनेको छ ।

पुराणअनुसार भगवान् विष्णुले लिएका दश अवतारमध्ये पहिलो अवतार मत्स्य अवतार मानिन्छ । धार्मिक विश्वासअनुसार प्रलयकालमा मत्स्यरूपी भगवानले समुद्रमा डुंगाको काम गर्दै वेदको रक्षा गरेका थिए ।

मेलाको अवसरमा मन्दिर क्षेत्रमा विशेष पूजा, भजन–कीर्तन तथा धार्मिक गतिविधि सञ्चालन हुने जनाइएको छ ।