राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशभर वडा अधिवेशन गर्दैछ । गत वैशाख २० गते अघि तदर्थ समिति गठन भएका करिब १५०० वडाको अधिवेशन आज गर्न लागेको हो ।
सङ्गठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार करिब ३ हजार वडामा तदर्थ समिति बनेका छन् । तीमध्ये ५० प्रतिशतको अधिवेशन चुनाव अघि र पछि गरेर सकिएको छ । तदर्थ समिति बनेका तर वडा अधिवेशन हुन नसकेका बाँकी वडाको अधिवेशन आज हुनेछ ।
दुई चरणमा वडा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको रास्वपाले जेठ ३ अघि तदर्थ समिति बन्ने वडाहरुको हकमा भने जेठ १६ गते वडा अधिवेशन गर्ने मिति तोकेको छ ।
पालिका अधिवेशन पनि दुई चरण गर्ने मिति तोकिएको छ । जेठ ९ र १७ गते पालिका अधिवेशन हुनेछ । कुनै पालिकाको वडाहरू मध्ये ३० प्रतिशत र जिल्लाको हकमा पनि ३० प्रतिशत पालिकाको अधिवेशन भए उपल्लो तहको अधिवेशन नरोकिने निर्णय रास्वपाले जनाएको छ ।
रास्वापाले जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने भएको छ । प्रदेश अधिवेशन जेठ २६ बाट सुरु गरेर असार १ गते सक्ने कार्यतालिका बनाइएको छ ।
प्रथम केन्द्रीय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुनेछ । पार्टी गठन भएको ठीक चार वर्ष पुगेकै दिन पहिलो महाधिवेशनको मिति तय गरिएको छ ।
















