सुर्खेतमा टिपरको ठक्करबाट युवकको मृत्यु

Image

 सुर्खेतको भेरीगंगा नगरपालिका–२, कालपानीस्थित भित्री सडकखण्डमा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २३ वर्षीय कमल वली छन् । 

बुधबार राति करिब ८ बजे कालपानी खोलाबाट सत्तरीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०६४७ नम्बरको टिपरले वलीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका वलीलाई उनका बुवा दलबहादुरले उपचारका निम्ति प्रदेश अस्पताल सुर्खेत कालागाउँ पुर्‍याएका थिए । उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

प्रहरीका अनुसार, टिपर चालक वीरेन्द्रनगर नगरपालिका–१० निवासी ५२ वर्षीय मानबहादुर चौधरी छन् । दुर्घटनापछि टिपर र चालकलाई सत्तरी क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

मृतकको शव प्रदेश अस्पताल सुर्खेतको शवगृहमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।