सहकारी संस्थाले एउटै व्यक्तिलाई १४ करोडसम्म ऋण दिएको खुलेको छ । सहकारी वेथिति जाँचबुझ आयोगको प्रतिवेदनले सहकारी क्षेत्रमा गम्भीर अनियमितता रहेको औंल्याएको हो ।
आयोगका अनुसार एउटै व्यक्तिलाई एकै दिन ४९ लाख र ५१ लाख गरी दुई कारोबारमार्फत एक करोड रुपैयाँभन्दा बढी ऋण प्रवाह गरिएको भेटिएको छ । प्रतिवेदनमा कतिपय सहकारीले एउटै व्यक्तिलाई १४ करोडसम्म ऋण दिएको उल्लेख गरिएको छ ।
त्यस्तै, ४९ प्रतिशतभन्दा बढी सञ्चालक समितिका पदाधिकारीले आफ्नै संस्थाबाट ऋण लिएको तथ्य पनि आयोगले सार्वजनिक गरेको छ । ऋण हानी कोषमा पर्याप्त रकम नराखी नाफा देखाएर लाभांश वितरण गर्ने, सफ्टवेयरमा दुई फरक विवरण राखेर अनियमितता गर्ने तथा आफ्ना परिवार र नजिकका नातेदारलाई ऋण दिने प्रवृत्ति बढेको आयोगको निष्कर्ष छ । सहकारीबाट प्रवाह भएको ऋणमा ४९ प्रतिशतभन्दा बढी सञ्चालक समितिका पदाधिकारीहरूले लिने गरेको प्रतिवेदनमा उल्लेख छ ।
आयोगले अर्बौंको कारोबार गर्ने सहकारीका व्यवस्थापकको योग्यता एसएलसी मात्र रहेको उदाहरण समेत प्रस्तुत गरेको छ । साथै, सहकारी विभागले प्रभावकारी अनुगमन नगरेको, निर्देशन दिएपछि पनि कारबाही नगरेको र अनुगमन प्रतिवेदनमाथि ढिलाइ गर्ने गरेको आरोप लगाइएको छ ।
आयोगले सहकारी क्षेत्रको कमजोर नियमन, पारदर्शिताको अभाव र स्वार्थ समूहको प्रभावका कारण समस्या गहिरिएको निष्कर्ष निकालेको छ ।
















