गण्डकी प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने राइड सेयरिङ सेवाको भाडादर औपचारिक रूपमा निर्धारण गर्दै नियमावली कार्यान्वयनमा ल्याएको छ।प्रदेश मन्त्रिपरिषद्को बैठकले राइड सेयरिङ नियमावली पारित गरेसँगै दुईपांग्रे र चारपांग्रे सवारीसाधनका लागि भाडादर समेत तोकिएको हो। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार २२ वैशाखमा भाडादरसहितको नियमावली पारित गरिएको थियो।
प्रदेश सरकारले गत वर्ष ३१ वैशाखमै पहिलोपटक राइड सेयरिङ नियमावली स्वीकृत गरेको भए पनि संघीय सरकारको परिपत्र तथा यातायात व्यवसायीहरूको आन्दोलनका कारण कार्यान्वयनमा आउन सकेको थिएन। नयाँ व्यवस्थासँगै अब प्रदेशभर राइड सेयरिङ सेवा नियमनको दायरामा आउने भएको छ।नियमावलीअनुसार पेट्रोलबाट चल्ने चारपांग्रे सवारीसाधनको सुरुवाती भाडा ६० रुपैयाँ तोकिएको छ भने त्यसपछि प्रति किलोमिटर ४८ रुपैयाँ ५० पैसा लाग्नेछ। दुई किलोमिटरसम्मको आधार भाडा १५६ रुपैयाँ ५० पैसा कायम गरिएको छ। चारपांग्रे सवारीमा दुई किलोमिटरसम्म आधार भाडा लागू हुनेछ र त्यसपछिको अतिरिक्त दूरीका लागि प्रति किलोमिटर दरअनुसार शुल्क थपिँदै जानेछ।
त्यस्तै, दुईपांग्रे सवारीसाधनको सुरुवाती भाडा ३० रुपैयाँ तोकिएको छ। एक किलोमिटरसम्मको आधार भाडा ४६ रुपैयाँ ८५ पैसा कायम गरिएको छ भने त्यसपछिको दूरीका लागि प्रति किलोमिटर १६ रुपैयाँ ८५ पैसा शुल्क लाग्नेछ।नियमावलीले यात्रुलाई छुटको व्यवस्था पनि अनिवार्य गरेको छ। पेट्रोलबाट चल्ने सवारीसाधनमा तोकिएको भाडादरमा कम्तीमा १० प्रतिशत तथा विद्युतीय सवारीसाधनमा १५ प्रतिशत छुट दिनुपर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
सरकारले निर्धारण गरेको भाडादर तथा छुटको व्यवस्था राइड सेयरिङ एपहरूमा अनिवार्य रूपमा समावेश गर्नुपर्ने प्रावधान समेत राखिएको छ। यसबाट यात्रु तथा सेवा प्रदायक दुवैका लागि पारदर्शी र व्यवस्थित सेवा सुनिश्चित हुने प्रदेश सरकारको अपेक्षा छ।















