अमेरिका–इरान शान्ति वार्ता रद्द भएपछि ट्रम्पले भने – इरान समाप्त भइसक्यो, अब एक पैसा पनि पाउँदैन

Image

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान नै ‘हतास अवस्थामा’ वार्तामा आएको दाबी गरेका छन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमा सन्देश लेख्दै ट्रम्पले भने, “हामी हतास भएर भेट्न गएका होइनौं, इरान गएको हो। उनीहरू समाप्त भइसकेका छन् ।”

उनले इरानसँगको अन्तिम सम्झौताका लागि तय गरिएको ६० दिने वार्ता अवधि यथावत् रहने पनि बताएका छन्। “हामी ६० दिनको प्रक्रिया अगाडि बढाउँछौं,” ट्रम्पले लेखेका छन्।

ट्रम्पले इरानलाई कुनै आर्थिक सहायता नदिइने स्पष्ट पार्दै भने, “उनीहरूले एक पैसा पनि पाउने छैनन्, दश सेन्टसमेत होइन।” यसअघि अमेरिका र इरानबीच भएको समझदारीपत्र (एमओयू) अन्तर्गत ६० दिनभित्र विस्तृत सम्झौतामा पुग्ने प्रयास गरिने सहमति भएको थियो। तर ट्रम्पको पछिल्लो अभिव्यक्तिले उक्त प्रक्रिया थप तनावपूर्ण बन्न सक्ने संकेत गरेको छ।

विहीबार मात्रै फ्रान्सको भर्साइल दरबारमा इरान युद्ध अन्त्य गर्नेसम्बन्धी १४ बुँदे अन्तरिम शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो। उक्त सम्झौतामा लेबनानसहित सबै मोर्चाहरूमा युद्ध अन्त्य गर्ने कुरा उल्लेख थियो।

सोही सम्झौतालाई कार्यान्वयन गर्ने विषयमा छलफल गर्न आज (शुक्रबार) स्विट्जरल्यान्डको बर्गेनस्टक रिसोर्टमा दुई देशबीच पहिलो औपचारिक वार्ता हुने तय भएको थियो। अमेरिकी उपराष्ट्रपति जेडी भेन्स त्यहाँ जाने तयारीमा थिए, तर अन्तिम समयमा आएर भ्रमण रद्द भएको छ ।

शान्ति सम्झौता लागू भएपछि पनि इजरायलले दक्षिणी लेबनानमा आफ्ना सेना नहटाउने अडान लियो र त्यहाँ लगातार हमलाहरू गरिरहेको छ । यसमा इजरायली र लेबनानी दुवैतर्फ मानवीय क्षति भएको छ ।

इजरायलको यही कदमले सम्झौताको सर्त उल्लङ्घन भएको भन्दै इरान रुष्ट बनेको छ र लेबनानमा युद्ध नरोकिएसम्म अमेरिकासँगको थप वार्ता अगाडि नबढाउने अडान लिएको हो।