सङ्खुवासभामा बाढी–पहिरोको कहर: विद्युत, सञ्चार र यातायात ठप्प, दुई विद्यालय बन्द

Image

लगातारको वर्षापछि आएको बाढी–पहिरोले सङ्खुवासभाको सिलिचोङ गाउँपालिकाको जनजीवन अस्तव्यस्त बनेको छ। बाढी–पहिरोका कारण विद्युत, सञ्चार, यातायात तथा शैक्षिक गतिविधि प्रभावित भएका छन् भने ६ परिवार विस्थापित भएका छन्।गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङका अनुसार सिलिचोङ–१ सिसुवाखोलामा आएको भीषण बाढी–पहिरोले गाउँपालिका केन्द्रसँगको सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। केन्द्रीय विद्युत् लाइन, माइक्रो हाइड्रो, इन्टरनेट तथा सञ्चार सेवा अवरुद्ध हुँदा सरकारी सेवा प्रवाहसमेत प्रभावित भएको उनले बताए।

पहिरोका कारण गाउँपालिकाभित्रका सबै सडक तथा गोरेटो बाटो अवरुद्ध भएका छन्। स्थानीय दुई वटा माइक्रो हाइड्रो आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने करिब ७० प्रतिशत सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीयवासी थप समस्यामा परेका छन्।बाढी–पहिरोले दुई विद्यालयमा ठूलो क्षति पुर्‍याएपछि पठनपाठन पूर्ण रूपमा ठप्प भएको छ। सिलिचोङ–१ नेवाटारस्थित कालिका माध्यमिक विद्यालयमा शनिबार राति माथिबाट खसेको पहिरोले १५ वटा कक्षाकोठामा चिरा परेको छ भने विद्यालयका शैक्षिक सामग्रीमा समेत क्षति पुगेको छ। १७० जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा अर्को सूचना नभएसम्म पठनपाठन बन्द गरिएको छ।यस्तै, सिलिचोङ–४ स्थित बागेश्वरी आधारभूत विद्यालयमा पनि पहिरोले भवन र शैक्षिक सामग्रीमा ठूलो क्षति पुर्‍याएको छ। दुवै विद्यालय उच्च जोखिममा परेकाले सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था सिर्जना भएको गाउँपालिका अध्यक्ष मेवाहाङले बताए।

बाढी–पहिरोका कारण सिलिचोङ–१ सिसुवाखोलाका ६ घर विस्थापित भएका छन्। विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। साथै तेन्छोङ, होयेङ्ला, चेप्चेवा, नेवाटार, याङसिम र गोगाने क्षेत्रका १०० भन्दा बढी घर उच्च जोखिममा परेका छन्।जोखिम बढेपछि ती क्षेत्रका स्थानीयवासी घर छाडेर सुरक्षित स्थानमा सामूहिक रूपमा आश्रय लिएर बसिरहेका छन्। स्थानीय जनप्रतिनिधि, वडा कार्यालय, गाउँपालिका तथा सुरक्षा निकायको संयुक्त टोलीले प्रभावित क्षेत्रको अनुगमन गरिरहेको भए पनि सडक अवरुद्ध हुनु र निरन्तर वर्षा भइरहेका कारण उद्धार तथा राहत व्यवस्थापनमा कठिनाइ भइरहेको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले कोशी प्रदेश सरकार र संघीय सरकारसँग प्रभावित बस्तीको तत्काल अनुगमन, सुरक्षित स्थानमा स्थानान्तरण, राहत वितरण तथा पुनर्स्थापनाका लागि आवश्यक सहयोग उपलब्ध गराइदिन आग्रह गरेको छ। साथै स्थानीयवासीलाई सुरक्षित स्थानमा बस्न र थप सतर्कता अपनाउन अनुरोध गरिएको छ।