शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा तथा नर्सिङ–जनस्वास्थ्य क्षेत्रका चार जना विज्ञलाई सदस्यका रूपमा मनोनयन गरेको छ।
मन्त्रालयले आईटी तथा डिजिटल नीति विज्ञ डा. अमृता शर्मा, नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्र राज पाण्डे, कर्खानाका सह–संस्थापक तथा स्टेम शिक्षा विज्ञ डा. दिपेश्वर मान श्रेष्ठ र नर्सिङ तथा जनस्वास्थ्य क्षेत्रकी विज्ञ प्रमिला रानालाई काउन्सिल सदस्यमा नियुक्त गरेको हो।
सिटिइभिटिको एकेडेमिक काउन्सिल परिषद्को शैक्षिक तथा प्राज्ञिक नेतृत्व गर्ने प्रमुख निकाय हो। काउन्सिलले पाठ्यक्रम विकास, नयाँ कार्यक्रमको स्वीकृति, शैक्षिक गुणस्तर सुनिश्चितता, मूल्याङ्कन प्रणाली तथा प्राविधिक एवं व्यावसायिक शिक्षाको दीर्घकालीन नीतिगत दिशानिर्देशनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
मन्त्रालयका अनुसार मनोनित सदस्यहरू आ–आफ्नो क्षेत्रमा लामो अनुभव र विशेषज्ञता हासिल गरेका व्यक्तित्व हुन्। सूचना प्रविधि तथा डिजिटल नीतिका विज्ञ डा. अमृता शर्माले सूचना तथा सञ्चार प्रविधिमा रोजगारीयोग्यता विषयमा विद्यावारिधि गरेका छन्। उनले डिजिटल रूपान्तरण, डिजिटल अर्थतन्त्र, सूचना प्रविधि सेवा निर्यात, डिजिटल सीप विकास तथा सार्वजनिक नीतिका क्षेत्रमा उल्लेखनीय अनुसन्धान र नीतिगत योगदान दिएका छन्। उनको नेतृत्वमा गरिएको ‘अनलिसिङ आईटी : एड्भान्सिङ नेपाल्स डिजिटल इकोनोमी’ अध्ययनले नेपाललाई सूचना प्रविधि सेवा निर्यातको प्रमुख गन्तव्यका रूपमा विकास गर्न आवश्यक नीतिगत सुधार, दक्ष जनशक्ति उत्पादन र निजी क्षेत्रसँगको सहकार्यका विषयमा महत्वपूर्ण सुझाव प्रस्तुत गरेको थियो।
त्यसैगरी, नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्र राज पाण्डे निर्माण, पूर्वाधार तथा औद्योगिक क्षेत्रका स्थापित उद्यमी हुन्। इन्जिनियरिङ पृष्ठभूमिका उनले तीन दशकभन्दा बढी समयदेखि निर्माण व्यवसाय, पूर्वाधार विकास तथा निजी क्षेत्रको नेतृत्व गर्दै आएका छन्। उनको अनुभवले प्राविधिक शिक्षालाई उद्योगको आवश्यकता, उत्पादन प्रणाली र श्रम बजारसँग अझ प्रभावकारी रूपमा जोड्न सहयोग पुग्ने मन्त्रालयको अपेक्षा छ।
स्टेम शिक्षा विज्ञ तथा कर्खानाका सह–संस्थापक डा. दिपेश्वर मान श्रेष्ठले अमेरिकाको टफ्ट्स विश्वविद्यालयबाट स्टेम शिक्षामा विद्यावारिधि गरेका छन्। उनले नेपालमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितमा आधारित व्यावहारिक सिकाइ, शिक्षकको व्यावसायिक क्षमता विकास, ‘मेकिङ’ संस्कृतिको प्रवर्द्धन तथा नवप्रवर्तनमुखी शिक्षाको विस्तारमा महत्वपूर्ण योगदान दिएका छन्। उनको सहभागिताले सिटिइभिटिको प्राविधिक शिक्षालाई सिर्जनशीलता, अनुसन्धान र उद्यमशीलतासँग थप जोड्न सहयोग पुग्ने विश्वास गरिएको छ।
नर्सिङ तथा जनस्वास्थ्य क्षेत्रकी विज्ञ प्रमिला रानाले भारतबाट नर्सिङमा स्नातकोत्तर उपाधि हासिल गरेकी छन् भने नेदरल्यान्ड्सको वागेनिङ्गेन विश्वविद्यालयबाट स्वास्थ्य तथा समाज विषयमा फेलोसिप पूरा गरेकी छन्। हाल नेपाल रेडक्रस सोसाइटीमा क्लिनिकल कोअर्डिनेटरका रूपमा कार्यरत उनले सेभ द चिल्ड्रेन, नर्भिक इन्टरनेशनल अस्पताललगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा जनस्वास्थ्य, नर्सिङ सेवा, आपतकालीन प्रतिकार्य तथा स्वास्थ्य कार्यक्रमको नेतृत्वदायी भूमिका निर्वाह गरिसकेकी छन्।
मन्त्रालयले सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा तथा स्वास्थ्य क्षेत्रका अनुभवी व्यक्तित्वहरूको सहभागिताले सिटिइभिटिको एकेडेमिक काउन्सिललाई बहुआयामिक विशेषज्ञता प्रदान गर्ने विश्वास व्यक्त गरेको छ। साथै, प्राविधिक तथा व्यावसायिक शिक्षालाई आधुनिक प्रविधि, उद्योगको आवश्यकता, नवप्रवर्तन र श्रम बजारसँग थप प्रभावकारी रूपमा जोड्दै गुणस्तरीय तथा रोजगारमुखी शिक्षा प्रणाली विकासमा यी मनोनयनले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।















