सर्लाहीको गोडैता नगरपालिकामा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका एक युवकको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। गोडैता नगरपालिका–१० सिसौटिया निवासी ३५ वर्षीय विवेक मण्डलले शुक्रबार दिउँसो करिब पौने ४ बजे आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ।
घटनापछि उनलाई सुरुमा प्रादेशिक अस्पताल मलंगवामा प्राथमिक उपचार गराइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि शुक्रबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ ल्याइएको हो।
विवेकको कीर्तिपुर अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ। प्रहरीका अनुसार विवेक विज्ञान विषयमा एमएस्सी उत्तीर्ण छन्। उनको मानसिक अवस्था केही समयदेखि ठीक नरहेको परिवारका सदस्यले जनाएका छन् ।
स्थानीय बासिन्दाका अनुसार उनी पछिल्लो एक वर्षदेखि बेरोजगार थिए। एमएससी अध्ययन पूरा गरेपछि उनले केही समय मलंगवास्थित एक कलेजमा अध्यापन गरेका थिए। तर करिब एक वर्षअघि जागिर छुटेपछि उनी बेरोजगार बनेको परिवारले जनाएको छ।
वडाध्यक्ष वैद्यनाथ मण्डलका अनुसार आर्थिक अभावका कारण उनी मानसिक तनावमा रहेका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।












