नक्कली शरणार्थी प्रकरणमा दुई वर्षदेखि कारागारमा रहेका बेचन झा रिहा भएका छन्। उनी सुन्धारा कारागारबाट सबै प्रक्रिया पूरा गरेर बुधबार रिहा भएका हुन्।
मंगलबार मात्रै जिल्ला अदालत काठमाडौँले ठगी मुद्दामा एक वर्ष कैद र १० हजार जरिबाना सजाय तोकेको थियो। झाले तोकिएको अवधिभन्दा दोब्बर बढी कैद भुक्तान गरिसकेकाले उनी रिहा भएका हुन्। उनलाई रिहा गर्नका लागि मंगलबार राति नै कारागारलाई पत्र पठाइएको अदालतका प्रवक्ता शिव खतिवडाले जानकारी दिए।
झा २०८१ असार १४ गते पक्राउ परेका थिए। त्यसयता उनी पुर्पक्षका लागि सुन्धारा कारागारमा थिए।
अब सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पनि आजै प्रक्रिया पूरा गरेर तारेखमा रिहा हुनेछन्। यसअघि सफाइ पाएका प्रतिक थापालाई पनि यसै गरी रिहा गरिएको थियो।














