नेपाल–चीन सीमावर्ती रसुवागढी–केरुङ क्षेत्रमा बुधबार (भदौ १०)को विनाशकारी बाढीपहिरोबारे काठमाडौंस्थत चिनियाँ दूतावासले आफ्नो धारणा सार्वजनिक गर्दै फैलाइएका केही दाबी भ्रामक भएको स्पष्ट पारेको छ । दूतावासले आरोप–प्रत्यारोपभन्दा द्विपक्षीय सहकार्यमा जोड दिएको छ ।
चीनले पूर्वसूचना नदिँदा वा चिनियाँ भूभागमा बनेको भौगर्भिक बाँध भत्कँदा नेपालतर्फ ठूलो क्षति भएको भन्ने समाचार निराधार रहेको दूतावासले जनाएको छ ।
सन् २०२६ अगस्ट २६ को बिहान नेपालतर्फको भूभागमा भूकम्प वा सोहीसरहको हिमनदी भत्कने घटना घटेको र त्यसैबाट भीषण लेदोसहितको पहिरो उत्पन्न भएको दूतावासको भनाइ छ ।
यो प्राकृतिक विपद्का कारण नेपाल र चीनको ग्याइरोङ क्षेत्र दुवैतर्फ ठूलो मात्रामा मानवीय क्षति हुनुका साथै मानिस बेपत्ता भएका दूतावासले उल्लेख गरेको छ ।
दूतावासले जारी गरेको विज्ञप्तिमा विपद्को यो कठिन परिस्थितिमा आरोप–प्रत्यारोपले केही समाधान नगर्ने भन्दै आपसी सहकार्यले नै मानिसको जीवनरक्षा गर्न सकिने उल्लेख गरिएको छ ।













