ऋषिपञ्चमीमा आँधीखोलाले बगाउँदा महिलाको मृत्यु

Image

ऋषिपञ्चमीका अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले बगाउँदा स्याङ्जामा एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा वालिङ नगरपालिका–९, भूम्रेकी ५३ वर्षीया माया पाण्डे रहेकी छन्। वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलका अनुसार मंगलबार बिहान आँधीखोलामा नुहाउने क्रममा पाण्डेलाई खोलाको तीव्र बहावले बगाएको थियो।

घटनालगत्तै वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी टोली खटिनुका साथै स्थानीय जनप्रतिनिधि र सर्वसाधारणले खोजी थालेका थिए।

खोजीका क्रममा घटनास्थलभन्दा करिब चार किलोमिटर तल वालिङ नगरपालिका–१३ स्थित शान्तिघाटमा आँधीखोलाको ढुंगामा अड्किएको अवस्थामा पाण्डेको शव फेला परेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।