सप्तरीमा सोमबार साँझ भएको सवारी दुर्घटनामा नेकपा (एकीकृत समाजवादी)का नेता रामनारायण चौधरीको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–५ स्थित खरचुहिया सडक खण्डमा चौधरी सवार स१०प ४६११ नंको स्कुटरलाई ना६ख ६३९९ नंको ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिने ट्रकका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
सुरुङ्गा नगरपालिका निवासी ६८ वर्षीय चौधरी गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीबाट सुरुङ्गा नगरपालिकाको नगरप्रमुख पदमा उम्मेदवार बनेका थिए । उनी पार्टीको जिल्ला कमिटी सदस्यसमेत हुन् ।
चौधरीको मृत्युपछि सप्तरीका स्थानीयले सोमबार अबेरसम्म पूर्व–पश्चिम राजमार्ग अवरूद्ध गरेका छन् । घटनापछि आक्रोशित स्थानीयले खरचुहियामा टायर बालेर आन्दोलन गरेका थिए । आज बिहान भने अवस्था सामान्य छ ।













