अन्तर संवैधानिक निकाय हाजिरीजवाफमा लोक सेवा आयोग प्रथम

काठमाडौं । अन्तर संवैधानिक निकाय हाजिरीजवाफ प्रतियोगितामा लोक सेवा आयोगले प्रथम स्थान हासिल गरेको छ । प्रतिस्पर्धामा सहभागी आठ टोलीलाई पछि पार्दै लोक सेवा आयोग पहिलो भएको हो ।

मंगलबार भएको फाइनल प्रतिस्पर्धामा लोक सेवा आयोगको टिमले ९० अंक प्राप्त गरेर पहिलो भयो । ८० अंकसहित थारु आयोग दोस्रो भयो । ५५ अंकसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो र ४५ अंकसहित मानव अधिकार आयोग चौथो भए ।

लोक सेवा आयोगको ७२ औं वार्षिक उत्सवको अवसरमा लोक सेवा आयोगले अन्तर संवैधानिक निकाए हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको थियो । आठ टोलीलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो । दुई समूहबाट उत्कृष्ट दुईरदुई वटा टोली फाइनलमा पुगेका थिए ।

विजेताहरुलाई लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीलगायतले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरे ।

लोक सेवाको टोलीमा शाखा अधिकृतद्वय तिलक सापकोटा र मदन कुमार बजगाईं तथा नायब सुब्बा ईश्वरी अधिकारी थिए ।