सत्यमोहन जोशी र जुरेली चरी

काठमाडौँ – नामसित थुप्रै विशेषण जोडिएर दशकौँसम्म सम्मानित रहेका संस्कृतिविद् सत्यमोहन जोशीको आइतवार बिहान १०३ वर्षको दीर्घ उमेरमा निधन भएको छ।

लोक साहित्य, संस्कृति, कलालगायत नेपालको पहिचानसँग जोडिएका विभिन्न क्षेत्रमा जिज्ञासु रहेर दशकौँसम्म योगदान पुर्‍याएका जोशीले स्वास्थ्य समस्याका कारण प्राण त्याग गरेका छन्।

खानामा अरुचि भएका कारण शिथिल बनेका उनलाई पछिल्लो समय डेंगी सङ्क्रमण भएपछि अस्पतालसमेत भर्ना गरिएको थियो।किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले असोज ३० गते आइतवार बिहान उनको निधन भएको पुष्टि गरेको हो।

सानोमा बिफरदेखि, औलो, हैजा अहिले कोरोनाभाइरसको विश्वव्यापी महामारीसमेत देखेका उनी खानपानमा ध्यान दिनु, सकारात्मक सोच राख्नु र धेरै महत्त्वाकाङ्क्षी नहुनुलाई आफ्नो दीर्घ जीवनको रहस्य मान्थे।

आफ्नो १०० वर्षको जन्मोत्सव मनाउने बेला उनले सार्वजनिक कार्यक्रममा संस्कार र संस्कृतिले जीवनमा रस भरिदिने र त्यही क्षेत्रमा लामो समय काम गरेकाले दीर्घ जीवनको कारण त्यो पनि भएको हुनसक्ने बताएका थिए।

कुनै एक चिनारी मात्रैले जोशीलाई चिनाउन सम्भव छैन।संस्कृतिदेखि साहित्य, साहित्यदेखि कला, कलादेखि सिक्का र हुलाक टिकटको सङ्ग्रहलगायत विभिन्न विषयमा उनले उल्लेखनीय योगदान पुर्‍याएका छन्।

त्यसैले त उनले अन्य कुनै नेपालीले नपाएका सम्मान र पदवी पाए। नाम र इज्जत कमाए।उनी त्यस्ता एक मात्रै नेपाली हुन् जो जीवित रहँदै आफ्नो तस्बिर अङ्कित चाँदीको सिक्का निष्कासन गरिएको थियो।१००, १००० र २५०० का सिक्काको एउटा पाटोमा जोशीको तस्बिर छ भने अर्कोमा सगरमाथाको तस्बिर छ।

८ दशकभन्दा लामो कालखण्डमा विभिन्न विषयको खोजीमै सक्रिय रहेका जोशीले जीवनका आखिरी वर्षमा पनि विश्राम नलिएको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन्। १०२ वर्षको उमेर पुग्दा प्रकाशित उनको आत्मकथा विमोचन हुँदा उनी आफैँ उपस्थित भए। केही बेर मन्तव्य पनि दिए।

जुरेली दर्शन
युवावयमै मृत्यु जितेका उनी आफ्नो जीवनमा जुरेली चरीको विशेष प्रभाव रहेको बताउँथे।

उनले लेखेका छन्, ‘मैले बाँच्नका लागि एउटा चरीबाट प्रेरणा पाएँ। त्यो प्रेरणा थियो, सादा जीवन उच्च विचार। चिन्ता नगर्ने, बरू चिन्तन गर्ने र सन्तोषी भएर बाँच्ने।’

हुन पनि चाहे उनको अन्तिम इच्छा भनिएका आत्मकथा होऊन् वा चक्रसम्भरको पौभा चित्र, चिन्ता नगर्ने र चिन्तन गर्ने उनको जुरेली दर्शन १०३ वर्षमा प्राण त्याग्दा पनि जारी राखेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन्।

२०२७ सालमा कर्णाली अध्ययन
जोशीले नेपालमा लिच्छविकालदेखि आधुनिक नेपालसम्म प्रयोग भएका मुद्राहरूको खोजी गरे र त्यसैबारे लेखिएको ूनेपाल राष्ट्रिय मुद्राू नामक पुस्तकका लागि उनले दोस्रो पटक २०१७ सालमा मदन पुरस्कार पाए।

त्यसपछि उनले संयुक्त रूपमा पाएको तेस्रो मदन पुरस्कार भनेको कर्णाली लोक संस्कृति पुस्तकका लागि थियो।

यसरी अहिलेसम्म तीन पटक मदन पुरस्कार पाउने उनी एक मात्रै व्यक्ति हुन्।

कर्णालीलाई अहिले पनि सहज पहुँच नभएको क्षेत्र मानिन्छ।५२ वर्षअघि कर्णालीमा खस सभ्यताको अन्वेषण गर्न सत्यमोहन जोशीको नेतृत्वमा एउटा टोली पुगेको थियो।

जुम्लाको सिन्जा पुगेर अध्ययन अनुसन्धान गर्ने भन्ने कल्पना पनि गर्न नसकिने बेला मानवशास्त्री विहारीकृष्ण श्रेष्ठ, भूगोलविद् स्थिरजङ्गबहादुर सिंह, भाषाशास्त्री चूडामणि बन्धु, र संस्कृतिविद् प्रदीप रिमालसहित जोशीको टोलीले गरेको अध्ययनका आधारमा नै कर्णाली लोक संस्कृति नामक पुस्तक तयार भएको हो।

कर्णाली क्षेत्रमा योजना बनाउनका लागि त्यति बेला गरिएको अध्ययनलाई अत्यन्तै महत्त्वपूर्ण मानिन्छ।त्यसअघि कर्णालीका विविध पक्षमा त्यो स्तरको अध्ययन नै नभएको बताइन्छ।कलाकार अरनिकोबारे नेपालमा कमै जानकारी थियो।

चाइनिज बुद्धिस्ट एशोसियसनको निम्तोमा बेइजिङ पुग्दा नेपाली कलाकार अरनिकोले बनाएको ह्वाइट ड्यागोवा ९सेतो चैत्याकार स्तूप० देख्दा आफू चकित परेको उनले बताउने गर्थे।