काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ । राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्रीका लागि दाबी पेश गर्न आइतबार साँझ ५ बजेसम्मको समयसीमा दिएकी थिइन् ।
राष्ट्रपतिले दिएको समयसीमा आज सकिदै गर्दा सत्ता गठबन्धनमा भावी प्रधानमन्त्रीका विषयमा टुंगो लागेको छैन । भावि प्रधानमन्त्रीका लागि गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाबी छ ।
शनिबार दिनभरका भेटघाट र बैठकमा कांग्रेस र माओवादीले पहिलो कार्यकालको सरकार आफ्नै नेतृत्वमा बन्नुपर्ने दाबी गरेपछि सहमति बनेन । गठबन्धमा आलोपालो सरकार चलाउने कुरामा लगभग सहमति भएपनि पहिलो कार्यकाल कस्ले पाउने भन्ने विषयमा सहमति हुन सकेको छैन ।
कांग्रेस सभापति देउवा भावी प्रधानमन्त्रीको रुपमा प्रचण्डलाई साथ दिन तयार भएपनि अन्य नेताहरुले विरोध गरेका छन् । शनिबारको बैठकमा देउवाले माओवादीलाई प्रधानमन्त्री छोड्न साथीहरुले नमानेको बताएका थिए । संसदको सबैभन्दा ठूलो दल कांग्रेस भएकोले कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्ने दोस्रो तहका नेताहरुको तर्क छ । यता माओवादीका नेताहरुले भने प्रधानमन्त्री नपाए गठबन्धन टुट्न सक्ने चेतावनी दिएका छन् ।आइतबार पनि गठबन्धनको बैठक बस्दै छ ।














