एक दिनमै फेरियो ओलीको बोली, भने– असन्तुष्टि होइन, छलफल गरेर बजेट ल्याएको भए राम्रो हुन्थ्यो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति असन्तुष्टि नरहेको बताएका छन् । आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

सञ्चारकर्मीहरूले बजेटप्रति असन्तुष्टि हो ? भन्ने प्रश्नमा असन्तुष्टि नरहेको तर छलफल गरेर बजेट ल्याएको भए झनै राम्रो हुने प्रतिक्रिया दिएका थिए । उनले भने, ‘असन्तुष्टि होइन, छलफल गरेको भए अझ राम्रो हुन्थ्यो ।’

यसअघि उनले आजैमात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए । ओलीले हिजो (शनिबार) पार्टी संसदीय दलको बैठकमा बजेटमाथि असन्तुष्टि जनाउँदै अर्थमन्त्री वर्षमान पुन पार्टीतिर ढल्किएको टिप्पणी गरेका थिए ।

संसदमा आइतबारबाट आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरू भएको छ ।