सरकारले विद्यार्थीहरूलाई कोरोनाविरूद्ध खोप दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षार्थीलाई प्रवेश पत्रका आधारमा खोप लगाउने व्यवस्था मिलाउने निर्णय गरेको हो ।
संयुक्त विद्यार्थी संगठनले कोरोना महामारीका बेला परीक्षार्थीलाई अनिवार्य रुपमा खोपको व्यवस्थापन गर्न दवाव दिँदै आएको बेला सरकारले यस्तो निर्णय गरेको हो ।
प्रवेशपत्रका आधारमा परीक्षार्थीलाई खोप दिने निर्णय गरेको खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए । उनका अनुसार काठमाडौंको प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा गएर विद्यार्थीले खोप लगाउन पाउनेछन् ।
त्रिविले अहिले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको छ । मन्त्रालयका अनुसार त्रिविले सञ्चालन गर्ने परीक्षामा करिब ६० हजार विद्यार्थी रहेको अनुमान गरेको छ ।














