बाढीपहिरो प्रभावित जिल्लाको कमाण्डर बनाईएका ८ सहसचिव फिल्डमा खटिए

गृह मन्त्रालयले अति भारी वर्षाका कारण प्रभावित आठ जिल्लामा खोज तथा उद्धार र राहतका लागि थप समन्वय र सहजीकरण गर्न गठित कार्यदलका संयोजकहरू बुधबार बिहानदेखि फिल्डमा खटिएका छन् ।

गृहसचिव गोकर्णमणि दुवाडीले आवश्यक कार्यादेशसहित प्रभावित जिल्लामा आठ जना सहसचिव बुधबार खटिएको जानकारी दिए । बाढीपहिरोबाट बढी प्रभावित जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा उनीहरूलाई खटाइएको हो ।

गृह मन्त्रालयका अनुसार काठमाडौँमा गोविन्दप्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायणप्रसाद अर्याल, काभ्रेपालञ्चोकमा वासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्याम कृष्ण थापा र धादिङमा रमेश ढकाललाई खटाइएको हो ।

कार्यदललाई अति भारी वर्षाका कारण उत्पन्न बाढीपहिरोबाट प्रभावितहरूको तत्काल उद्धार तथा राहतमा समन्वय र सहजीकरण गर्ने, बाढीपहिरोबाट भएका मानवीय र भौतिक क्षतिको संक्षिप्त विवरण तयार गरी तत्काल गर्नुपर्ने कार्यका सम्बन्धमा सुझाव दिने, क्षतिग्रस्त सडकहरूको शीघ्र मर्मतसम्भार गरी यातायात सञ्चालनमा ल्याउन सडक निर्माण गर्ने सम्बन्धित निकायसँग समन्वय गर्ने र विपद्पीडित नागरिकको सुरक्षित बसोबास तथा उनीहरूलाई राहत उपलब्ध गराउने सम्बन्धमा सम्बन्धित स्थानीय तहसँग समन्वय गर्ने कार्यादेश दिइएको छ ।

कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका डिभिजन इन्जिनियर र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव प्रतिनिधि छन् । कार्यदललाई असोज २१ गतेसम्म गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्न भनिएको छ ।

साथै कार्यदलले दैनिक रूपमा पनि जिल्लाको विपद्को वस्तुस्थितिबारे केन्द्रमा जानकारीसमेत गराउन पर्नेछ त्यसैगरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि १० जना शाखा अधिकृत प्रभावित जिल्लामा खटाएको छ । प्राधिकरणका सहसचिव वसन्त अधिकारीले ‘एक्सन टिम’ तयार गरी बुधबार नै प्रभावित पालिकामा खटाइएको जानकारी दिए ।

‘हामीले १० जना अधिकृतलाई बाढीपहिरो र डुबान प्रभावित जिल्लामा खटाएका छौँ, अधिकारीले भने, “ उहाँहरूले प्रभावित पालिकासित समन्वय र सम्पर्क गरेर नगद र वस्तु राहत वितरणमा सहजीकरण र फिल्डको अवस्थाबारे केन्द्रमा जानकारी गराउनेलगायतका काम गर्नुहुनेछ ।’