ढले प्रदीप अधिकारीका दुई खम्बा, जसले महानिर्देंशकका लागि असुली धन्दा चलाउँथे

काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको असुली धन्दाका दुई खम्बा ढलेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाल पक्राउ परेको तीन हप्ता वित्न नपाउँदै महानिर्देशक अधिकारीको असुली धन्दाका नाइके त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर पनि निलम्बनमा परेका छन् । उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गैरकानुनी लाभ लिने कार्यमा संलग्न रहेको भन्दै निलम्बन गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रब्य सामग्री नै  प्राप्त गरेकाे छ । उक्त अडियाेमा उनले उडान थप गर्नका लागि दश लाख घुस रकम माग गरेका छन् । अडियोमा ठाकुरले प्राधिकरण प्रमुखलाई पनि रकम बुझाउनु पर्ने बताएका छन् । प्राधिकरणका उच्च कर्मचारीका अनुसार महानिर्देशक अधिकारीकै निर्देशनमा ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग कुराकानी गरेका थिए ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख चुँडाललाई घुस रकम लिएको आरोपमा पक्राउ गरेको थियो । उनले पनि अधिकारीकै निर्देशनमा काम गरेको बुझिएको छ । अख्तियारको नियन्त्रणमा रहेका चुँडालले यसअघि पनि महानिर्देशक अधिकारीको नाममा पैसा असुली गरेको प्राधिकरणका कर्मचारीहरुले नै बताउने गरेका छन् । ठाकुर र चुँडाल महानिर्देशक अधिकारीका अत्यन्तै नजिकका पात्रहरु हुन् । उनीहरुको सेटिङमा प्राधिकरणभित्र थुप्रै प्रकारका कमिशन असुलीका धन्दा सञ्चालन भइरहेको कर्मचारीहरुकाे भनाइ छ। भैरहवा अन्तराष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थल लगायत देशमा सबै विमान स्थलमा असुली धन्दाका लागि आफ्ना निकट पात्रहरुलाई नियुक्त गरेका अधिकारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको जिम्मा ठाकुर र चुँडाललाई दिएका थिए । ठाकुर निलम्बन र चुँडाल पक्राउ परेपछि अधिकारीको अशुली धन्दा प्रभावित भएको छ ।

यसरी दुई घटनामा नाम जोडिदा समेत मन्त्रालयले महानिर्देशक अधिकारीलाई भने कुनै कारवाही गरेको छैन । पैसा र पावरले हरेक मन्त्रीलाई प्रभावमा पार्दै आएका अधिकारीले वर्तमान पर्यटन मन्त्री सुदन किराँतीलाई पनि प्रभावमा पार्ने प्रयास गरिरहेका छन् । अवैध कारोबारमा अधिकारीको नाम जोडिएको अडियो फेला पार्दा समेत मन्त्रालयले उनीमाथि कुनै एक्शन नलिनुले मन्त्री किराँती पनि उनको प्रभावमा परेको अनुमान हुन थालेको छ ।

कमिसनको चक्करमा नेपालको उड्डयन क्षेत्रलाई बदनाम बनाएका अधिकारीले अशुली  धन्दाका लागि टाेली नै निर्माण गरेकाे बुझिएकाे छ । प्राधिकरण भित्र अधिकारीको दादागिरीबाट हैरान हुँदा पनि कर्मचारीहरु उनको विरोधमा खुलेर बोल्दैनन् । अधिकारीले प्राधिकरण भित्रका सुचनाहरु मिडियाकर्मीलाई दिए कर्मचारीको जागीर खाइदिने धम्की दिन्छन् । यसो त उनी महानिर्देशकमा नियुक्ती हुँदादेखि नै विवादमा पर्दै आएका छन् । तत्कालीन मन्त्री र राजनीतिक व्यक्तिहरुलाई मोटो रकम बुझाएर नियुक्ती पट्काएका अधिकारीले नेपालको उडड्यन क्षेत्र ऐतिहासकै खराब अवस्थामा पुर्याएका छन् । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी छ । यस्ता प्रकारका उजुरी र अनुसन्धानले आफूलाई कुनै प्रभाव नपार्ने अधिकारीले आफू निकट व्यक्तिहरुसँग बताउने गरेका छन् । नेपालको राजनीति र नेताहरुलाई सजिलै प्रभावमा पार्न सकिने बताउँने अधिकारीले आफू निकटहरुसँग अहिलेका मन्त्रीलाई पनि आफूले प्रभावमा पारिसकेको बताउँछन् ।