काठमाडौँ – गत सोमबार यातायात मजदूरहरुले गरेको आन्दोलनको क्रममा लोत्से मल भित्र भएको लुटपाटको घटनामा व्यवस्थापन पक्षकै संलग्नता भएको आशंका गरिएको छ । यातायात मजदूरहरुको आन्दोलनलाई कमजोर पार्नका लागि सक्रिय भएको बालाजु बसपार्क व्यवस्थापनको जिम्मेवारी पाएको लोत्से बहुउदेश्यीय प्रालिकै संलग्नतामा लुटपाट भएको मजदूरहरुले आरोप लगाएका हुन् । सोमबार बालाजुमा तनाव बढाउन र प्रहरीको गाडी जलाउनका लागि ३० जना भन्दा धेरै मानिसहरु खटाएको लोत्सेले लुटपाटमा पनि थुप्रै व्यक्तिहरु परिचालन गरेको मजदूरहरुको आरोप छ । प्रहरीले समेत घटनामा ल्होत्सेको संलग्नता रहेको आंशकाका साथ अनुसन्धान अगाडी बढाएको छ ।
नयाँ बासपार्क क्षेत्रमा सार्वजनिक यातायातमा सिन्डिकेट नै चलाएको ल्होत्सेलाई आफ्नो एकाधिकार खोसिने ठूलो डर छ । जसका कारणले उसले मजदूरहरुको आन्दोलन कमजोर पार्नका लागि अनेकौ षडयन्त्रहरु रचेको स्रोत बताउँछ । बालाजुको आफ्नै मलमा लुटपाट गराउनका लागि विभिन्न व्यक्तिहरुलाई ज्याला दिएर परिचालन गरेको मजदूरहरु बताउँछन् । यसरी लुटपाट गराउँदा मजदूरहरुको बदनाम हुने र आफूले गरेको गैर कानूनी कार्यहरुको संरक्षण हुने अनुमान ल्होत्से सञ्चालक छ । आन्दोलनको क्रममा भएको लुटपाटको भिडियोमा देखिएका अधिकांश व्यक्तिहरु ल्होत्से मलका व्यापारीका आफन्त र कर्मचारी रहेका छन् । ल्होत्से मलका व्यापारीलाई घटनाको पूर्व जानकारी भएको समेत बताएको छ ।
यसो त काठमाडौँको नयाँ बसपार्क व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनी ल्होत्से बहुउद्देश्यीय प्रालिले बस पार्क क्षेत्रमा दादागिरी नै चलाएको छ । मजदूर मात्र होइन सर्वसाधरण र व्यापारीहरुले समेत नयाँ बसपार्क क्षेत्रमा ल्होत्सेको दादागिरी मौलाउँदै गएको आरोप लगाउने गरेका छन् । उक्त कम्पनी नै गैर कानुनी भएको बताइन्छ । सरकारी कर्मचारी र महानगरपालिकाका जनप्रतिनिधिलाई प्रभावमा पारी सरकारी जग्गा कौडीको भाउमा भाडामा लिएको उक्त कम्पनीले बसपार्क क्षेत्रमा आफूखुसी संरचना निर्माण गरेको छ । नयाँ बसपार्कले चर्चेको ८० रोपनी जग्गामा विभिन्न अवैध संरचना निमार्ण गरि ल्होत्सेले भाडामा लगाएको छ । जसलाई सरोकारवालाहरु गैरकानूनी रहेको बताउँछन् । नयाँ बस पार्क क्षेत्रमा सिन्डिकेट खडा गरेको ल्होत्सेले काउन्टरदेखि बसमा काम गर्ने हजारौँ मजदूरहरुको गाँसहरण गरेको समेत आरोप लागेको छ ।
यति मात्र होइन ल्होत्सेले सम्झौताविपरीत भवन बनाइ ती भवन र बसपार्क क्षेत्रमा मनोमानी शुल्क उठाउँदै व्यवसायीलाई हैरान पारेको दुःखेसो पीडितहरूको छ । महानगरपालिकासँगको सम्झौतामा यात्रुको सुविधाका लागि केही संरचना बनाउन पाउने उल्लेख गरिएको छ । तर, त्यही प्रावधानको गलत व्याख्या गर्दै उक्त कम्पनीले व्यापारिक प्रयोजनका लागि सार्वजनिक जग्गा अतिक्रमण गरेर अवैध संरचना निर्माण गरेको हो ।
जापान सरकारको सहयोगमा ०४९ सालमा नयाँ बसपार्क निर्माण गरिएको थियो । जापानी संस्था जाइकाले बसपार्कमा विभिन्न संरचनाहरू निर्माण गरिदिएको थियो ।बसपार्क निर्माण सम्पन्न भएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बसपार्क उद्घाटन गरेका थिए । त्यसपछि काठमाडौं महानगरपालिकाको मातहतमा राखिएको बसपार्क २९ चैत ०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिलाई जिम्मा लगाइएको थियो ।
https://www.tvannapurna.com/107639/2023/02/15/
सम्झौतामा सार्वजनिक प्रयोजन भनिएपनि अन्ततः ल्होत्सेले व्यापारिक प्रयोजनका लागि सरकारी सम्पत्तिको दोहन गर्दै आएको छ । बसपार्क क्षेत्रमा आठ सय सवारीसाधनको पार्किङ व्यवस्था मिलाउने नाममा उक्त सरकारी जग्गा ल्होत्सेलाई दिइएको थियो । पार्किङ शुल्कका नाममा ल्होत्सेले सवारीसाधनबाट ठूलो रकम असुल्ने गरेको छ । बसपार्कमा क्यान्टिन चलाउनेदेखि भरियाले समेत ल्होत्सेलाई शुल्क बुझाउँछन् ।
शक्तिको आडमा ल्होत्से बहुउद्देश्यीय प्रालिले सरकारी जग्गा कब्जा गरी मनपरी संरचना निर्माण गरेर रकम असुली गरिरहँदासमेत सरकारी निकायबाट कुनै कारवाही अगाडि बढेको छैन । पछिल्लो समय अनाधिकृत संरचना हटाउन सक्रिय देखिएको काठमाडौँ महानगरपालिकाले समेत ल्होत्सेको अवैधानिक संरचनामाथि कुनै आँखा लगाएको छैन ।















