त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित ९ वटा पसलहरू कारबाहीमा परेका छन् । उनीहरूलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले कारबाही गर्दै १५ लाख जरिवाना तिराइएको हो ।
विभागका निर्देशक होमनाथ भट्टराईले उपभोक्तासँग मनोमानी ढङ्गले रकम असुली गरेको भन्दै ती पसलहरूलाई कारबाही गरेको बताए ।
कारबाही पर्नेमा अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलमा रहेका एयरपोर्ट टी कफी एन्ड कन्फेक्सनरी सप, कार्की मल्टिपल ट्रेड एन्ड सप्लायर्स, एबीपी मार्ट, ओम नवदुर्गा इन्टरप्राइजेज, न्यु कन्फेक्सनरी स्टोर, एयरपोर्ट टी कफी एन्ड कन्फेक्सनरी सप, होटल स्वनिङ (कफी एन्ड कन्फेक्सनरी), पीडी इन्टरप्राइजेज र होटल स्वनिङ रहेका छन् ।
पसलमा उपभोक्ता खुद्रा मूल्यभन्दा बढी रकम असुल गरी बस्तु बिक्री गरिरहेका व्यावसायिक फर्महरूलाई उनीहरूले गरेको कसुरको मात्रा र गाम्भिर्यता समेतका आधारमा बजार अनुगमन टोलीले जम्मा १५ लाख जरिवाना गरेको हो । उक्त फर्महरूलाई उपभोक्ता हित संरक्षण प्रतिकूल हुने गरी कुनै पनि काम कारबाही नगर्नु/नगराउन निर्देशन दिइएको छ ।















