प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन कुनै पनि वेला फुट्ने बताएका छन् ।
सत्तारुढ गठबन्धनलाई खरानीको डल्लोको रूपमा चित्रण गर्दै उनले त्यो सुके पनि फुट्ने र भिजे भने पनि फुट्ने टिप्पणी गरे । बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष ओलीले आफ्नो सुझाव नसुनेर सरकारले दम्भ देखाइरहेको आरोप लगाए ।
ओलीले सत्तारुढ प्रमुख घटक काँग्रेस प्रतिगामी सोचका साथ अघि बढिरहेको जिकिर गरे । उनले काँग्रेस महासमिति बैठकले संविधान संशोधनको कुरा गरे पनि सम्भव नभएको दावी गरे । काँग्रेस एक्लैले संविधान संशोधन गर्नसक्ने अवस्था नरहेको ओलीको भनाइ थियो ।
अध्यक्ष ओलीले भने, ‘नेकपा एमालेसँग बहुमत छैन । हामी प्रतिपक्षमा छौं । त्यसकारण हामीले सुझाव दिने हो । त्यो सुझाव गठबन्धनको सुनिराखेको छैन गठबन्धन खरानीको डल्लो हो। यो सुक्यो भने पनि फुट्छ, भिज्यो भने पनि फुट्छ । एमालेले काँग्रेसलाई केमा सहयोग गर्ने, प्रतिगमनका लागि ? काँग्रेस जनपक्षीय, प्रगतिशील हुनुपर्नेमा पछाडि फर्कन खोजिराखेको छ ।’
अध्यक्ष ओलीले काँग्रेसले प्रतिगामी सोच राखेकाले एमालेले सहयोग गर्ने कुनै पनि ठाउँ नरहेको बताए ।















